जनकपुरमा वकिलहरूको आक्रमणमा पत्रकार महासंघका अध्यक्ष सहित आधा दर्जन सञ्चारकर्मी घाइते
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको लिजमा प्राप्त जग्गामा निर्माण तयारीका क्रममा मंगलबार वकिलहरूको एक समूहले पत्रकारहरुमाथि आक्रमण गरेको छ। घटनामा महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायलगायत करिब आधा दर्जन सञ्चारकर्मी घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
आक्रमणका क्रममा महासचिव क्रान्तिको पैताला भाँचिएको छ, अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने पत्रकार रायको टाउकोमा चोट पुगेको छ। महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कठा जग्गा गुठी संस्थानसँग २० वर्षका लागि वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा लिजमा लिएको हो। तर, नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा वकिलहरूका लागि गाडी पार्किङको व्यवस्था गर्ने घोषणा गरेपछि विवाद सुरु भएको महासंघको दाबी छ।
अध्यक्ष बन्जाराका अनुसार गुठी संस्थानसँग सबै कानुनी प्रक्रिया पूरा गरेर सम्झौता भएपछि पनि बारले “भवन निर्माण गर्न नहुने” र “जग्गा प्रयोग नगर्नु पर्ने” जस्ता पूर्वाग्रही व्यवहार देखाउँदै आएको छ। उनले बारसँग मौखिक रुपमा वार्ता भएको, आवश्यकता परे वैकल्पिक जग्गा उपलब्ध गराउने वा बाटोको समस्या समाधान गर्ने सहमति भए पनि अहिले आएर आक्रमणसम्म पुगेको बताए।
बन्जाराले अनौपचारिक रूपमा हिजो मात्र सो जग्गामा रिट दर्ता भएको जानकारी पाएको उल्लेख गर्दै भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको बताए। “विद्वान अधिवक्ताबाट यस्तो आचरण हुनु, त्यो नै विद्वतामाथि प्रश्न हो,” उनले भने, “कानुनी प्रक्रिया पूरा गरेर प्राप्त जग्गालाई आफ्नो भन्नु अस्वीकार्य छ।”
महासचिव क्रान्तिले पनि साउन १९ गते गुठीसँग औपचारिक सम्झौता भएको स्मरण गराउँदै, यसअघि जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित भएपछि विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरेकोमा, प्राविधिक र आर्थिक प्रस्ताव पार गर्दै महासंघको प्रस्ताव स्वीकृत भएको विवरण प्रस्तुत गरे। गुठी संस्थानले साउन २ गते महासंघलाई जग्गा प्राप्त भएको सूचना प्रकाशन गरेको र साउन ९ गते सम्झौताका लागि पत्र पठाएपछि साउन १९ गते औपचारिक सम्झौता भएको उनले बताए।
महासंघले आफूहरू कानुनी आधारमा बलियो भएको र विवाद समाधानका लागि अदालतमा विश्वास रहेको जनाएको छ। अध्यक्ष बन्जाराले अनावश्यक किचलो सिर्जना भए पनि भदौ ५ गते नै विषयको टुंगो लाग्ने विश्वास व्यक्त गर्दै, सोही जग्गामा प्रदेशको भवन निर्माण गर्ने अठोट दोहोर्याएका छन्।