शोशिला देवी हजराको परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष यादवको श्रद्धाञ्जली
वीरगञ्ज । जेन(जी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर ज्यान गुमाएकी शोशिला देवी हजराको परिवारलाई पर्साको सखुवाप्रसौनी गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीय शोशिलाको परिवारलाई सहयोग गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भदौ २४ गते भएको आगजनीमा गम्भीर घाइते भएकी शोशिलालाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर, शरीरको ५० प्रतिशत भाग जलेका कारण उनको असोज ६ गते उपचारकै क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
अध्यक्ष यादवले शोशिलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । “शोशिलाको निधनले हामी मर्माहत छौँ । यो अपूरणीय क्षति हो । परिवारलाई यो दुखद घडीमा सहयोग गर्न गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ,” उनले भने, “हामी परिवारको साथमा छौँ र थप सहयोगका लागि पनि तत्पर रहनेछौँ ।” उनले यस्ता हिंसात्मक घटनाले समाजमा अशान्ति निम्त्याउने भन्दै सबैलाई शान्ति र संयम अपनाउन आग्रह गरे ।
यादवका अनुसार, सोशिलाको पाँच छोरी र एक छोरा छन् । श्रीमान् वैदेशिक रोजगारीबाट केही दिन अगाडि मात्रै फर्किएका छन् ।