वीरगञ्जको शाह प्याराडाइस होटलमा बुबा–छोरा मृत फेला, अनुसन्धान जारी
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोक स्थित नयाँ बसपार्क नजिकको शाह प्याराडाइस होटेलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन् ।
मंगलबार साँझ होटलको पहिलो तलामा रहेको कोठा नम्बर १११ मा भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी र उनका २४ वर्षीय छोरा सागर आचारजी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार उनीहरूले असोज १९ गते बिहान ४ बजे होटलमा बुकिङ गरेका थिए । मङ्गलबार साँझसम्म कोठाको ढोका नखुलेपछि शंका उत्पन्न भई होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले छेउको कोठाबाट भेन्टिलेटर मार्फत हेर्दा छोरा पंखामा झुन्डिएको र बुवा बेडमा पल्टिएको अवस्थामा देखेपछि ढोका खोलेर भित्र प्रवेश गरी शव नियन्त्रणमा लिएको थियो ।
होटल सञ्चालकका अनुसार दुबै जनाले सोमबार दिउँसोसम्म खाना र रुम सर्भिस मागेका थिए तर त्यसपछि सम्पर्क नहुँदा शंका लागेको थियो । मंगलबार बिहान सरसफाइका लागि पठाइएका कर्मचारीले ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा जबरजस्ती प्रवेश वा तोडफोडको कुनै प्रमाण फेला परेकाे छैन । घटनाको कारण भने अहिलेसम्म नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्जमा पठाइएको छ ।
प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन गर्न होटल सञ्चालक, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूबाट बयान लिइरहेको जनाएको छ ।