पर्सामा मतदाता दर्ता सहज बनाउन जनमत पार्टीद्वारा हेल्प डेस्क स्थापना
वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
पर्सा जिल्लामा मतदाता दर्ता प्रक्रियालाई सहज र सुलभ बनाउने उद्देश्यले जनमत पार्टी पर्साले जिल्ला निर्वाचन कार्यालय, राधेमाई नजिक मतदाता दर्ता हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।
पार्टीले शुक्रबारदेखि सुरु गरिएको यो सेवामार्फत मतदाता नामावलीमा नाम समावेश गर्ने, विवरण संशोधन गर्ने तथा नयाँ मतदाता कार्ड बनाउने प्रक्रियामा सहयोग उपलब्ध गराइने जनाएको छ।
जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार हेल्प डेस्कमा स्वयंसेवकहरू परिचालन गरिनुका साथै पर्साका गाउँ–गाउँमा घरदैलो तथा उत्प्रेरणा कार्यक्रम सञ्चालन गरी नागरिकलाई मतदाता दर्तामा सहभागी गराइनेछ।
“मतदाता दर्ता प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। दर्ता प्रक्रिया सहज होस् भन्ने उद्देश्यले हामीले यो पहल गरेका हौं,” अध्यक्ष सरार्फले बताए।
हेल्प डेस्कले आवश्यक कागजात, फाराम भर्ने प्रक्रिया, उमेर प्रमाणीकरण तथा निर्वाचन कार्यालयमा बुझाउने सम्पूर्ण चरणमा सहयोग गर्ने पार्टीले जनाएको छ।