नेकपा एमाले पर्साको पाँचौँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणदेखि महाधिवेशन प्रतिनिधि चयनसम्म महत्वपूर्ण निर्णय

64

पर्सा।

नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक सोमबार सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, अनुशासन, जिम्मेवारी हेरफेर तथा महाधिवेशनका लागि प्रतिनिधि चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पारित गरेको जनाएको छ।

जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तथा एमाले केन्द्रीय सचिव, पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पार्टीभित्रका आपसी द्वन्द्व हटाएर एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘जवज’ सिद्धान्तको सफल कार्यान्वयन हुँदै देश तथा मधेस प्रदेशमा एमाले पहिलो पार्टीका रुपमा स्थापित भइसकेको दाबी गरे।

महासेठले आगामी निर्वाचन पनि केपी ओलीकै नेतृत्वमा जाने स्पष्ट पार्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले ओलीलाई कमजोर बनाउन खोजे पनि एमाले संगठन अझ मजबुत भएर उभिएको बताइएकाे छ।

बैठकमा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु, प्रदेश सांसद विणा शर्मा, पोखरीया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादव, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज कुमार गुप्तालगायत प्रदेश र जिल्ला कमिटीका सदस्यहरूको सहभागिता थियो।

बैठकले १३ गते महाधिवेशनका प्रतिनिधि सर्वसम्मतिले चयन गर्ने र २७ गते काठमाडौंमा हुने महाधिवेशन उद्घाटन समारोहमा व्यापक जनसहभागिता सुनिश्चित गर्ने निर्णय गरेको जिल्ला सचिव महेश दासले जानकारी दिए।

सो बैठकले भदौ २३/२४ को घटनापछि विभिन्न माध्यममार्फत राजीनामा गरेका तथा आगजनी–तोडफोडमा संलग्न व्यक्तिहरूको सदस्यता खारेज गर्ने निर्णय पनि गरेको छ। साथै, बैठकले सुन्दर प्रसाद कुर्मीलाई जिल्ला प्रचार विभाग प्रमुखमा मनोनयन गरेको दासले बताए।

Leave A Reply

Your email address will not be published.