हरि खेतान बहुमुखी क्याम्पसलाई राजनीतिक गढ बन्न दिँदैनौँ — ओमप्रकाश सर्राफ

82

वीरगञ्ज, पर्सा । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ ले हरि खेतान बहुमुखी क्याम्पस कुनै पनि व्यक्ति वा समूहको निजी राजनीतिक गढ नभई विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायको साझा सम्पत्ति भएको स्पष्ट पारेका छन्।

बुधबार जारी एक विज्ञप्तिमार्फत उनले क्याम्पसलाई राजनीतिक दलको शाखा कार्यालयझैँ सञ्चालन गर्ने प्रवृत्ति तुरुन्त अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। जनमत पार्टी पर्सा क्षेत्र नं. १ का प्रस्तावित उम्मेदवारसमेत रहेका सर्राफले हरि खेतान बहुमुखी क्याम्पसको ऐतिहासिक, सामुदायिक र शैक्षिक गरिमा हजारौँ विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण र समाजको निरन्तर सहयोगबाट निर्माण भएको उल्लेख गरे।

उनले व्यक्तिगत स्वार्थका लागि क्याम्पसको गरिमा कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै हरेक वर्ष हजारौँ विद्यार्थीले यही क्याम्पसबाट आफ्नो भविष्य निर्माण गरिरहेको अवस्थामा उनीहरूको अध्ययन प्रक्रिया कुनै पनि हालतमा अवरुद्ध हुन नदिइनुपर्ने धारणा व्यक्त गरे।

कुनै पनि दल, गुट वा स्वार्थी समूहले आफ्ना राजनीतिक एजेन्डाका लागि विद्यार्थीको भविष्य बन्धक बनाउन नपाउने भन्दै सर्राफले कडा चेतावनी दिएका छन्। क्याम्पसलाई सुरक्षित, पारदर्शी र गुणस्तरीय रूपमा सञ्चालन गर्न आवश्यक सबै कदम दृढतापूर्वक चालिनुपर्ने उनको भनाइ छ।

उनले पूर्वाधार विकास, आधुनिक शैक्षिक वातावरण निर्माण र शान्त शैक्षिक माहोललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै क्याम्पसको स्थिरता बिगार्ने, पारदर्शिता नष्ट गर्ने वा शिक्षालाई व्यापारमा रूपान्तरण गर्ने शैक्षिक माफियाविरुद्ध कडा कानुनी कारबाही अनिवार्य रहेको बताए।

“हाम्रो उद्देश्य स्पष्ट छ—हरि खेतान बहुमुखी क्याम्पसलाई शिक्षा, शान्ति र गुणस्तरको केन्द्रका रूपमा सुरक्षित राख्ने,” सर्राफले उल्लेख गरेका छन्।

अन्त्यमा उनले हरि खेतान बहुमुखी क्याम्पस राजनीतिक खेल मैदान नभई ज्ञान, गरिमा र भविष्य निर्माणको प्रतिष्ठान भएको सन्देश दृढ, स्पष्ट र अविचल रूपमा स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.