पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादवप्रति चासो कमजोर, घरदैलोमा उठे संगठन र क्षमतामाथि प्र
वीरगञ्ज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले सरस्वती पूजाको अवसर पारेर घरदैलो अभियान सुरु गरे पनि स्थानीयस्तरमा अपेक्षित उत्साह देखिन नसकेको प्रतिक्रिया आएको छ। पर्सागढी नगरपालिकाबाट सुरु गरिएको घरदैलो क्रममा मतदाताहरूले पार्टी संगठन, उम्मेदवारको प्रभाव र नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन्।
स्थानीयवासीका अनुसार पर्सा–२ मा नेकपा एमालेको संगठन लामो समयदेखि कमजोर अवस्थामा रहेको छ, जसको असर चुनावी अभियानमा समेत स्पष्ट देखिन थालेको छ। कतिपय मतदाताले उम्मेदवारको नाम मात्रले जित सुनिश्चित नहुने भन्दै स्पष्ट कार्ययोजना, प्रभावकारी बोली र जनतासँगको निरन्तर उपस्थितिको अभाव रहेको गुनासो गरेका छन्।
घरदैलोका क्रममा केही स्थानमा स्थानीयहरूले शिक्षा, रोजगारी, आधारभूत सेवा र विकास निर्माणका विषयमा ठोस प्रतिबद्धता नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। “बोलीमा कुरा धेरै छन्, तर व्यवहार र क्षमतामा विश्वस्त हुन सकिएको छैन,” एक स्थानीयले प्रतिक्रिया दिए।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–२ मा एमाले कमजोर बन्दै गएको अवस्थामा उम्मेदवार यादवमाथि संगठन मजबुत बनाउने र जनविश्वास जित्ने दोहोरो चुनौती रहेको छ। अन्य दलका उम्मेदवारहरू आक्रामक रूपमा मैदानमा रहँदा एमालेको अभियान अपेक्षाकृत फितलो देखिएको उनीहरूको भनाइ छ।
यद्यपि उम्मेदवार यादवले भने आलोचनालाई स्विकार्दै घरदैलो अभियानमार्फत जनताको मन जित्ने प्रयास जारी राख्ने बताएकी छन्। तर बढ्दो आलोचना, कमजोर संगठन र मतदाताको चिसो प्रतिक्रिया बीच पर्सा–२ मा एमालेका लागि चुनावी यात्रा सजिलो नदेखिएको टिप्पणी हुन थालेको छ।