रहरिया हत्याकाण्ड: पूर्व मुख्यमन्त्री सोनल र उम्मेदवार सन्जु साहद्वारा पीडित परिवारसँग भेट
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाटोलमा बुधबार राति आमा र छोराको निर्मम हत्या भएको घटनाप्रति राजनीतिक तथा सामाजिक तहमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। उक्त घटनामा ज्यान गुमाएका परिवारसँग आज मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मा. जितेन्द्र सोनल र बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साह ले प्रत्यक्ष भेटघाट गरी शोक सन्तप्त परिवारजनलाई सान्त्वना दिएका छन्।
पूर्व मुख्यमन्त्री सोनल र उम्मेदवार साहले पीडित परिवारसँग भेट गर्दै यस्तो जघन्य र अमानवीय घटनाले समाजलाई स्तब्ध बनाएको बताउँदै दोषी जो कोही भए पनि तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने स्पष्ट धारणा राखेका थिए।
सो क्रममा उनीहरूले जिल्ला प्रहरी प्रमुखसँग समेत भेट गरी घटनाको निष्पक्ष, गहिरो र छिटो अनुसन्धान गर्न आग्रह गर्दै पीडित परिवारलाई न्याय दिलाउन राज्य संयन्त्र गम्भीर बन्नुपर्ने बताए। जनप्रतिनिधिका हैसियतले पीडित परिवारको साथमा आफूहरू सदैव उभिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसअघि, बुधबार बिहान ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र उनका २७ वर्षीय छोरा रामेश्वर महतो मण्डल को धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, छोरी रीना कुमारी र बुहारी मनिता घाइते भएका छन्, जसको उपचार परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा भइरहेको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र शोकको माहोल छाएको छ भने दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा सजायको माग स्थानीयवासीले समेत गरेका छन्।