ने.वि.संघ आबद्ध युवाद्वारा पर्सा–१ मा अनिल रुङटाको पक्षमा चुनावी अभियान तीव्र

86

वीरगञ्ज — नेपाल विद्यार्थी संघ (ने.वि.संघ) आबद्ध युवाहरूले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यसहित संगठित रूपमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र समावेशी विकासको एजेन्डालाई केन्द्रमा राख्दै युवाहरू घरदैलो, जनसंवाद तथा संगठन विस्तारमा सक्रिय हुने भएका छन्।

ने.वि.संघका युवा नेता बिकाश मण्डलको अध्यक्षतामा आज सम्पन्न बैठकले पर्सा क्षेत्र नं. १ अन्तर्गतका सबै वडाहरूमा चरणबद्ध रूपमा घरदैलो कार्यक्रम, युवामुखी अन्तरक्रिया, डिजिटल क्याम्पेन तथा संगठन सुदृढीकरण गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी युवाहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सक्षम, शिक्षित र दूरदर्शी नेतृत्वको आवश्यकता औंल्याउँदै अनिल रुङटा त्यसका लागि उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकाले।

बैठकमा बोल्दै ने.वि.संघका नेताहरूले विशेषगरी जेन–जी पुस्ता राजनीतिप्रति सचेत, प्रविधिमैत्री र परिवर्तनमुखी रहेको उल्लेख गरे। उनीहरूले अबको राजनीति पुरानो सोच र शैलीबाट नभई नवीन सोच, रोजगारी, उद्यमशीलता, शिक्षा र डिजिटल अवसरमार्फत अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा उम्मेदवार अनिल रुङटाले युवाहरूको उत्साह र सक्रियताले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले भने,

“जेन–जी युवाहरू मेरो पहिलो प्राथमिकता हुन्। आजका युवा केवल मतदाता होइनन्, नीति निर्माणका साझेदार हुन्। उनीहरूको ऊर्जा, सिर्जनशीलता र प्रविधिमा पहुँच नै पर्सा क्षेत्रको विकासको आधार बन्न सक्छ।”

रुङटाले पर्सा क्षेत्र नं. १ को समग्र विकासका लागि रोजगारी सिर्जना, सीपमूलक शिक्षा, स्टार्टअप तथा उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा र डिजिटल पूर्वाधार विस्तारलाई आफ्ना प्रमुख एजेन्डाका रूपमा अघि सारे। साथै, विदेश पलायन रोक्न स्थानीय स्तरमै अवसर सिर्जना गर्ने र युवाहरूलाई नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पार्टी संगठन मजबुत बनाउन ने.वि.संघको भूमिका ऐतिहासिक र प्रभावकारी रहेको बताए। उनले युवाहरूलाई अनुशासित, मर्यादित र सकारात्मक ढंगले चुनावी अभियानमा लाग्न आग्रह गर्दै भने,

“युवाको सोच र व्यवहारले नै पार्टीको छवि बनाउँछ। जिम्मेवार युवा नै परिवर्तनका संवाहक हुन्।”

बैठकमा ने.वि.संघका जिल्ला, क्षेत्र तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी युवाहरूले आगामी दिनमा एकढिक्का भएर अनिल रुङटाको पक्षमा जनमत सिर्जना गर्ने दृढ संकल्प व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरेका थिए।

Leave A Reply

Your email address will not be published.