बारा–४ मा जसपाका उम्मेदवार सञ्जु साह जीततर्फ अग्रसर, टोल–टोलमा गुञ्जिँदै ‘छाता छाप’को नारा
बारा, माघ १६ — बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय समन्वय समिति सदस्य तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले यो निर्वाचन मधेसको स्वाभिमान जोगाउन र संघीयतालाई अझ सुदृढ बनाउनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले जसपाले नै मधेसलाई अधिकार दिलाएको उल्लेख गर्दै अझै धेरै संघर्ष गर्न बाँकी रहेको धारणा व्यक्त गरे।

सोनलले निर्वाचन क्षेत्र नम्बर–४ लाई “रखात” सम्झेर विभिन्न बहरूपिया, ठग र बैमान तत्वहरू भोट माग्न आएको आरोप लगाउँदै मधेससँग धोकेबाजी गर्ने कुनै पनि शक्तिलाई भोट नदिन कार्यकर्तालाई आग्रह गरे। उनले जसपा यो निर्वाचन जितको बाटोमा अघि बढिरहेको दाबी गर्दै सबैलाई टोल–टोलमा पार्टीको सन्देश पुर्याउन र छाता छापमा भोट हालेर उम्मेदवार सञ्जु साहलाई भारी बहुमतले विजयी गराउन अपिल गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्जु साह, अधिवक्ता रामचन्द्र सिंह, डाक्टर अर्जुन पटेल, पार्टीका क्षेत्रीय अध्यक्ष सीताराम गुप्ता, महिला नेतृ रिता पटेल, विद्यार्थी नेता एस.ए. यादवलगायत वक्ताहरूले जनता समाजवादी पार्टीको बढ्दो जनलहर र वर्तमान राजनीतिक परिस्थितिबारे आ–आफ्ना धारणा राखेका थिए।
भेला जनता समाजवादी पार्टी परवानीपुर गाउँपालिका अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण अधिवक्ता त्रिलोक प्रताप सिंहले गरेका थिए।
कार्यक्रममा युवा नेता सुनिल पटेल, विजय पटेल, मोहन पटेल, वीरशमशेर यादव, महिला नेतृ तथा युवा–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।