मधेस र देशको निकास जनमतसँगै छ : उम्मेदवार सरार्फ
माघ १८, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जि आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या भएको स्मरण गर्दै त्यसका लागि नेपाली कांग्रेस, एमाले लगायतका ठूला दलहरू जिम्मेवार रहेको आरोप लगाए। उनले ती दल र तिनका उम्मेदवारलाई मतदाताले ब्यालेटमार्फत सजाय दिने समय आएको भन्दै जनताको अदालतमा उनीहरूलाई बहिष्कार गरी खबरदारी गर्नुपर्नेमा जोड दिए।

देश र मधेसको निकासका लागि स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले सबै मतदातालाई हर्न छापमा मतदान गर्न अपिल गरे।
कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अन्जना गुप्ता, नजमा खातुन, अनिता रौनियार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।