मत माग्न मात्र होइन, समस्या बुझ्न आएको हुँ : सुशील कानु

53

वीरगन्ज, २० माघ : पर्सा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ एकटाँगा टोलमा मंगलबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिकीसँग गाँसिएका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए।

भेटघाटका क्रममा उम्मेदवार कानुले आफू केवल मत माग्न नभई जनताको वास्तविक समस्या बुझ्न र त्यसको समाधानका लागि स्पष्ट बाटो खोज्न आएको बताए। शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी र सुशासनजस्ता विषयमा उठेका जनआवाजले आफ्नो चुनावी एजेन्डा अझ स्पष्ट बनेको उनको भनाइ थियो।

स्थानीय बासिन्दाले विद्यालयको गुणस्तर सुधार, युवालाई रोजगारीका अवसर सिर्जना, स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित खानेपानीको व्यवस्था तथा प्रभावकारी सुशासनको माग गरेका थिए।

कानुले यी सबै मुद्दाहरू संसद्‍मा बलियो रूपमा उठाउने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, जनतासँग निरन्तर सम्पर्कमा रहेर विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै आगामी दिनमा पनि यस्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने बताए।

Leave A Reply

Your email address will not be published.