भ्रमको राजनीति विरुद्ध रूपेश पाण्डेको कडा जवाफ : “म कुनै पनि बैंकको कालोसूचीमा छैन

103

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनसँगै राजनीतिक माहोल अत्यन्तै तातेको छ। परिवर्तन र नयाँ नेतृत्वको स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डेविरुद्ध विपक्षीहरूले सुनियोजित रूपमा भ्रम फैलाउने अभियान चलाएको आरोप लागेको छ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा पाण्डेलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत झूटा आरोप र कमजोर प्रमाणका आधारमा मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको उनको दाबी छ।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे।

“व्यवसाय गर्दा बैंकसँग कारोबार गर्नु स्वाभाविक प्रक्रिया हो। व्यस्तताका कारण केही समय ब्याज भुक्तानीमा ढिलाइ भएको थियो, तर अहिले सबै दायित्व पूरा भइसकेको छ। म कुनै पनि बैंकको कालोसूचीमा छैन,” उनले स्पष्ट पारे।

उनका अनुसार कहिले “अमेरिकाको ग्रिन कार्ड” सम्बन्धी हल्ला त कहिले “बैंकको कालोसूची” जस्ता विषय उठाएर आफूलाई बदनाम गर्ने प्रयास भइरहेको छ।

“जनताको विश्वास जित्न नसक्नेहरूले कूटनीतिक षड्यन्त्र र भ्रमको राजनीति गरेर जित्न सक्दैनन्,” उनले ठोकुवा गरे।

पर्सा–३ मा देखिएको परिवर्तनको लहर र युवा उम्मेदवार पाण्डेप्रतिको बढ्दो जनसमर्थनले परम्परागत शक्तिहरूमा असहजता सिर्जना गरेको विश्लेषण गरिँदैछ। २०४७ सालदेखि जरा गाडेको पुरानो राजनीतिक संरचनालाई चुनौती दिँदै उभिएको युवा नेतृत्वप्रतिको आकर्षणले क्षेत्रको राजनीति नयाँ मोडमा पुगेको देखिन्छ।

एनआईसी एशिया बैंकको कालोसूचीमा परेको भन्दै फैलाइएको आरोपप्रति पनि पाण्डेले स्पष्ट जवाफ दिएका छन्। सफल युवा व्यवसायीको रूपमा पहिचान बनाएका पाण्डेलाई आर्थिक विषयलाई राजनीतिक हतियार बनाउँदै बदनाम गर्ने प्रयास भएको उनका समर्थकहरूको भनाइ छ।

स्थानीय मतदाताहरूका अनुसार यसपटक पर्सा–३ मा बहस व्यक्तिविरुद्धको आरोप–प्रत्यारोपमा होइन, विकास, सुशासन र स्थिरतामा केन्द्रित हुनुपर्छ। पाण्डेले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका स्पष्ट योजना सार्वजनिक गरिसकेका छन्।

पर्सा–३ मा देखिएको जनलहरले यस निर्वाचनलाई केवल प्रतिस्पर्धा होइन, परिवर्तनको जनआन्दोलनका रूपमा चित्रित गरिरहेको छ। भ्रम र दुष्प्रचारभन्दा माथि उठेर मतदाताले तथ्य र भिजनका आधारमा निर्णय गर्ने विश्वास पाण्डेले व्यक्त गरेका छन्।

फागुन २१ को निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा मात्र होइन, नयाँ पुस्ताको नेतृत्वप्रतिको जनविश्वास कति बलियो छ भन्ने पनि स्पष्ट पार्ने देखिन्छ।

Leave A Reply

Your email address will not be published.