सुगौलीमा नेपाल जनता पार्टीको शक्ति प्रदर्शन, सन्तोष पटेलको पक्षमा माहोल मजबुत

117

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ सुगौलीमा आज नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। चुनाव नजिकिँदै जाँदा पटेलको पक्षमा जनसमर्थन र जनविश्वास बढ्दै गएको स्थानीयले बताएका छन्।

घरदैलोका क्रममा उम्मेदवार पटेलले “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर–हर कमल, घर–घर कमल” भन्ने नारासहित मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए। उनले युवाहरु, महिला तथा विद्यार्थीलाई उच्च सम्मान र अवसर सुनिश्चित गर्ने, आर्थिक विकासलाई तीव्रता दिने तथा धार्मिक पर्यटन प्रवर्द्धनमार्फत क्षेत्रको समृद्धि हासिल गर्ने योजना अघि सारे।

उनले सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको एजेन्डालाई समेत प्राथमिकतामा राख्दै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास र सुरक्षालाई सुदृढ बनाउने प्रतिबद्धता जनाए।

यस्तै, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण तथा रामायण सर्किट निर्माणजस्ता महत्वाकांक्षी योजनाहरु पनि उनले प्रस्तुत गरेका छन्। रोजगारी सिर्जनामार्फत क्षेत्रको दिगो समृद्धि ल्याउने उनको दाबी छ।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले सकारात्मक प्रतिक्रिया जनाउँदै परिवर्तनका लागि आफूहरु तयार रहेको बताएका थिए।

उम्मेदवार पटेलले “नेपाल जनता पार्टीको कमल छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन” अपिल गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा पर्सा क्षेत्र नम्बर–२ मा उनको सक्रियता र जनसम्पर्क कार्यक्रमले राजनीतिक सरगर्मी थप बढाएको देखिन्छ।

Leave A Reply

Your email address will not be published.