वडा नं. १७ मा टेमानीको घरदैलो : डुबान र खानेपानी समस्या समाधानमा जोड
वीरगञ्ज, ०४ फागुन।
अशोक कुमार टेमानीले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा वडा नं. १७ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। “विकास, समृद्धि र स्वाभिमान”लाई मूल एजेन्डा बनाउँदै उनी टोल–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
घरदैलोका क्रममा स्थानीयले वर्षौंदेखि भोग्दै आएका डुबान, खानेपानी अभाव, ढल निकासको समस्या, शिक्षा तथा स्वास्थ्य सेवाको कमजोरी जस्ता गुनासा खुलाएका छन्। विशेषगरी वर्षायाममा सामान्य वर्षासँगै सडक र घरआँगन जलमग्न हुने समस्या यहाँका नागरिकको प्रमुख चिन्ता बनेको छ। व्यवस्थित नाला तथा ढल निकास नहुँदा हरेक वर्ष डुबान दोहोरिने गरेको स्थानीयको भनाइ छ।
खानेपानीको अभाव पनि गम्भीर समस्या बनेको छ। धारामा नियमित पानी नआउने, ट्यांकरको भर पर्नुपर्ने अवस्था र शुद्ध पिउने पानीको दीर्घकालीन योजना नहुँदा जनजीवन प्रभावित भइरहेको गुनासो उठाइएको छ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीको स्तरोन्नति, औषधि अभाव तथा दक्ष जनशक्तिको कमीका कारण सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको अभाव, पर्याप्त शिक्षक नहुनु र गुणस्तरीय शिक्षण–सिकाइको कमीले विद्यार्थीको भविष्य प्रभावित भइरहेको अभिभावकहरूको भनाइ छ। कृषि क्षेत्रमा पनि सिँचाइ सुविधा, मल–बीउको उपलब्धता तथा बजार व्यवस्थापनमा समस्या रहेको विषय उठाइएको थियो।
स्थानीयका गुनासा सुनेपछि उम्मेदवार टेमानीले आधारभूत समस्या समाधानलाई पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।
“खानेपानी, ढल निकास र सडक पूर्वाधार सुधार नगरी समृद्धिको कुरा गर्न सकिँदैन। जनताको समस्या नजिकबाट बुझेर त्यसको समाधानका लागि संसदमा सशक्त आवाज उठाउनेछु,” उनले भने।
उनले डुबान समस्या समाधानका लागि दीर्घकालीन जलनिकास योजना अघि बढाउने, शिक्षा–स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तथा कृषि उत्पादन प्रवर्द्धनका लागि आवश्यक नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए।
घरदैलो कार्यक्रममा युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत मतदातासँग भावनात्मक सम्बन्ध जोड्दै विश्वास जित्ने प्रयास गरिएको यस अभियानले वडा नं. १७ को चुनावी सरगर्मीलाई थप बढाएको छ।