नवकाटोलाबाट अनिल रुङटाको सशक्त सन्देश : पर्सा–१ समृद्ध बनाउने अठोट

25

वीरगञ्ज। नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–३१ नवकाटोलामा अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा क्षेत्रीय तथा वडा तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा रुङटाले वर्तमान राजनीतिक अवस्था, निर्वाचन तयारी तथा जनअपेक्षाबारे धारणा राख्दै संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिए।

“निर्वाचन केवल मत माग्ने प्रक्रिया होइन, जनभावना बुझ्ने र समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अवसर पनि हो,” उनले भने, “हामी एकताबद्ध भएर अघि बढ्यौं भने विजय सुनिश्चित छ।”

रुङटाले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उल्लेख गर्दै पर्सा–१ लाई समृद्ध र अवसरयुक्त क्षेत्र बनाउने योजना प्रस्तुत गरे। युवालाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन, महिलाको सशक्तीकरण, कृषि–व्यापार आधुनिकीकरण र पूर्वाधार विकासमा गति दिने प्रतिबद्धता उनले जनाए।

कार्यक्रममा रामनारायण कुर्मी, अजय दिवेदी, किरण शर्मा, अरबिन्द गुप्ता लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

अगुवा कार्यकर्ताहरूले संगठनलाई थप मजबुत बनाउँदै युवालाई अभियानमा सक्रिय परिचालन गर्ने, जनतासँग निरन्तर संवाद कायम राख्ने र घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउने सुझाव दिएका थिए।

नवकाटोलाबाट सुरु भएको यो सक्रियताले पर्सा–१ मा चुनावी माहोल थप तातेको छ भने जनविश्वासलाई आधार बनाएर समृद्धिको यात्रा अघि बढाउने सन्देश दिएको छ।

Leave A Reply

Your email address will not be published.