नगवामा प्रदीप यादवको घरदैलो, स्थानीयबाट टीका र समर्थन
वीरगञ्ज, १७ फागुन – पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादव ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
आइतबार बिहान चुनावी घरदैलोका क्रममा नगवा पुगेका यादवलाई स्थानीय बासिन्दाले भव्य स्वागत तथा समर्थन जनाएका छन्। घरघरबाट स्वस्फूर्त रूपमा निस्किएका महिला मतदाताले यादवलाई टीका लगाएर स्वागत गर्दै विजयको शुभकामना तथा आशीर्वाद दिएका थिए।
स्थानीय मतदाताहरूले चुनावका बेला मात्रै भोट माग्न आउने नेता नचाहिएको स्पष्ट पार्दै जनताको सुखदुःखमा सधैं साथ दिने नेतृत्व रोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदातासँगको संवादका क्रममा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुने निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले सही नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। उनले विगतका दुई कार्यकालमा आफूले क्षेत्रको विकास र जनसेवामा खेलेको भूमिकाको मूल्यांकन गरिदिन मतदातासँग आग्रह गरे।
“चुनावका बेला मात्र देखिने मौसमी नेता म होइन,” उनले भने, “व्यापारीले आफ्नो नाफाघाटा मात्रै हेर्छ। चुनावलाई पनि उसले व्यापारजस्तै नाफाघाटाको हिसाब गर्छ। त्यस्तासँग जनता सजग हुन जरुरी छ।”
मुलुक ‘स्टन्ट’ले नचल्ने उल्लेख गर्दै यादवले अहिलेको संकटबाट निकास दिन सक्ने राजनीतिक शक्ति एमाले नै भएको दाबी गरे। विकास र समृद्धिको स्पष्ट खाका एमालेसँग मात्रै रहेको उनको भनाइ थियो।
“स्टन्ट गर्नेहरूले भोटका लागि जे पनि बोल्न सक्छन्। तर चुनाव सकिएपछि उनीहरू कहाँ गायब हुन्छन्, अत्तोपत्तो हुँदैन,” उनले भने, “देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अघि बढाउन एमालेका उम्मेदवारलाई नै आफ्नो अमूल्य मत दिनुहोस्।”