पर्सा क्षेत्र १ र २ मा बुद्धि बहादुर पन्त र सुशील कुमार कानुको शानदार विजय
फागुन २३, वीरगञ्ज — पर्सा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि बहादुर पन्त (हरि पन्त) फराकिलो मतान्तरले विजयी भएका छन्। उनले कुल २७ हजार २७४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी प्रदिप यादव लाई पछि पार्दै विजय हासिल गरेका हुन्।
त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु भारी मतान्तरले विजयी भएका छन्। दुवै विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस मा कडा सुरक्षा व्यवस्थाबीच मतगणना सम्पन्न गरिएको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूले विजय जुलुस निकाल्दै खुसीयाली मनाएका थिए।
प्रमाणपत्र ग्रहणपछि विजयी उम्मेदवारहरूले मतदाताप्रति आभार व्यक्त गर्दै पर्साको विकास, सुशासन र पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 📰