एमाले सचिवालय बैठकले १६ समानुपातिक सांसदको नाम टुंग्यायो, निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम अन्तिम टुंगो लगाउँदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार चयनका साथै विभिन्न शोक प्रस्तावहरू पनि पारित गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार समावेशी क्लस्टरका आधारमा उम्मेदवार छनोट गरिएको छ। निर्वाचन आयोगमा पठाइने सूचीमा आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।
यसैगरी खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल चयन भएका छन् भने पिछडिएको क्षेत्र तथा अपाङ्गता क्लस्टर समेटेर यशोदा कुमारी बरालको नाम पनि सिफारिस गरिएको छ।
थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस गर्ने निर्णय गरिएको भट्टले जानकारी दिए।
उम्मेदवार चयनसँगै बैठकले पार्टी नेतृत्व र पङ्क्तिमा परेको शोकप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौन धारणसहित शोक प्रस्तावहरू पनि पारित गरेको छ। फागुन २९ गते बिहान निधन भएका अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले अध्यक्ष ओलीसहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
यसका अतिरिक्त, फागुन २८ गते पार्टीको समीक्षा बैठक चलिरहेकै बेला हृदयघातका कारण निधन भएका केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक कृष्ण थापा र प्रचारप्रसारकै सिलसिलामा हृदयघातका कारण ज्यान गुमाएका पूर्वकेन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईप्रति पनि बैठकले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।