मनोज चौधरी पक्राउ प्रकरण: वीरगञ्जमा सर्वदलीय बैठक, एसपीको कार्यशैलीप्रति असन्तुष्टि
नेपाली कम्युनिस्ट पार्टी पर्साका नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मङ्गलवार वीरगञ्जमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपा पर्साद्वारा आयोजित उक्त बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउने निर्णय गरेको हो।
बैठकले पर्साका प्रहरी प्रमुख सुदिप राज पाठक (एसपी) को कार्यशैली तथा राजनीतिक दल र नेताप्रतिको दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै सोही कारण चौधरी पक्राउ प्रकरणमा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
पर्साका विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको बैठकले एसपी पाठकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बुधवार प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष डेलिगेसन जाने निर्णय समेत गरेको छ।
त्यसैगरी, बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका चौधरीले आफ्नै गाडीमा शङ्कास्पद वस्तु राखेर हिँड्न नसक्ने दाबी गर्दै उनलाई फसाउन षड्यन्त्र गरिएको हुन सक्ने निष्कर्ष निकालेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी पर्सा जिल्ला अदालतमा शीघ्र प्रतिवेदन पेस गर्न माग गरिएको छ।
बैठकमा सहभागी नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीका अनुसार बैठकका निर्णयहरू बुधवार संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछन् र सोही दिन सिडिओसँग भेटेर मागहरू प्रस्तुत गरिनेछ।
नेपाल पत्रकार महासङ्घको वीरगञ्जस्थित सभा हलमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, फागुन १९ गते चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शङ्कास्पद वस्तु फेला परेको आरोपमा १५ दिनदेखि प्रहरीले उनीसहित नेकपा नेता सत्यनारायण थारु, सुरज कार्की र गाडी चालक साहब आलम अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ। चौधरी पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका थिए।
यस सर्वदलीय बैठक बोलाउन पार्टीका युवा नेता अनिल पटेलले पहल र आग्रह गरेका थिए।