एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय, ओली–लेखकलाई रिहा गर्न माग
काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ। पार्टीले यस विरुद्ध कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकका क्रममा एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै त्यसको निन्दा गरेका छन्। उनले भने,
“हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछौं।”
बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।
एमालेले गरेका अन्य निर्णयहरू यस प्रकार छन् –
आम जनसमुदाय र नागरिक समाजको दृढतासाथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।
लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने।
आज बिहान ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेकै बेला, एमाले कार्यकर्ताहरू काठमाडौंको चाबहिल क्षेत्रमा भेला भएर केहीबेर विरोध प्रदर्शन गरेका थिए।