अक्षरारम्भ कपको क्वाटरफाइनल समीकरण पूरा, चार विद्यालयले बनाए स्थान
वीरगञ्ज । नारायणी रङ्गशालास्थित टिबी मैदानमा जारी अक्षरारम्भ कप २०८३ अन्तर्गत पाँचौँ दिनका खेलमा पिस जोन, जीएचपी सेकेन्डरी स्कुल र ओम नेसनलले जित हासिल गरेका छन्। आज सम्पन्न तीन खेलसँगै समूह ‘ए’ र ‘बी’ बाट क्वाटरफाइनलमा पुग्ने चारवटै विद्यालयको टुङ्गो लागेको छ।
सनलाइट कलेजका प्रिन्सिपल आलोक चौरसियाका अनुसार आजको पहिलो खेलमा पिस जोनले मिनिल्यान्डलाई ४१ रनले पराजित गरेको छ। पिस जोनका धवल प्रसादले २३ रन बनाउनुका साथै एक विकेटसमेत लिएपछि उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा जीएचपी सेकेन्डरी स्कुलले कादम्बरीलाई ३६ रनले पराजित गरेको छ। जीएचपीका कृष्ण यादवले पाँच विकेट लिएपछि खेलको उत्कृष्ट खेलाडी घोषित भए।
आजको तेस्रो खेलमा ओम नेसनलले ज्ञानोदयलाई ६ विकेटले पराजित गरेको छ। ओम नेसनलका वाहिद खानले २७ रन बनाउँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्याएपछि उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
आजका खेलको नतिजा अनुसार समूह ‘ए’ बाट विद्या सदन माध्यमिक विद्यालय समूह विजेता र पिस जोन उपविजेता बनेका छन्। त्यसैगरी, समूह ‘बी’ बाट जीएचपी सेकेन्डरी स्कुल समूह विजेता र सनलाइट सेकेन्डरी स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
भोलि लिग चरणका अन्तिम तीन खेल_
प्रतियोगिता अन्तर्गत भोलि (कात्तिक २० गते) लिग चरणका अन्तिम तीन खेल सञ्चालन हुनेछन्। खेल तालिकाअनुसार बिहान ७ बजे जीवनज्योति सेकेन्डरी स्कुल र लिटिल एन्जल्स सेकेन्डरी स्कुलबीच पहिलो खेल हुनेछ।
त्यसैगरी, बिहान १० बजे न्यू वेभ एकेडेमी र माउन्ट मकालु सेकेन्डरी स्कुलबीच दोस्रो खेल हुनेछ भने दिउँसो १ बजे सूर्योदय सेकेन्डरी स्कुल र मनकामना सेकेन्डरी स्कुलबीच अन्तिम लिग खेल हुनेछ।
यी खेलसँगै प्रतियोगिताको सम्पूर्ण लिग चरण सम्पन्न हुनेछ र त्यसपछि नक आउट चरणका खेल सञ्चालन हुनेछन्।
कात्तिक २१ गते क्वाटरफाइनल
प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरू कात्तिक २१ गतेदेखि सञ्चालन हुनेछन्। खेल तालिका अनुसार पहिलो क्वाटरफाइनल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच हुनेछ। दोस्रो क्वाटरफाइनल दिउँसो १२ः३० बजे समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ।
विद्यालयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र न्यू वेभ एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताले वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेटको उत्साह थप बढाएको छ।