नेपाल पुनः हिन्दू राष्ट्र बन्ने वक्ताहरूको विश्वास, वीरगञ्जमा शिक्षा वर्ग सम्पन्न
वीरगञ्ज। हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित सातदिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। सात दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले शारीरिक, मानसिक तथा बौद्धिक विकाससँग सम्बन्धित विभिन्न अभ्यास र तालिम प्राप्त गरेका छन्।
समापन समारोहमा स्वयंसेवकहरूले प्रशिक्षणका क्रममा सिकेका शारीरिक अभ्यास, अनुशासन तथा विभिन्न कौशलहरूको आकर्षक प्रदर्शन गरेका थिए। साथै, झाँकीसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूको सामूहिक अभ्यास र अनुशासित प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
कार्यक्रममा माननीय विभाग सञ्चालक अशोक बैद्य, माननीय जिल्ला सञ्चालक माधव राजपाल, नगर सञ्चालक प्रेम कुशवाहा, वीरगञ्ज भिस्वा गुम्बाका प्रतिनिधि तथा राष्ट्रिय सहकार्यवाह रञ्जित सराफलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार सातदिने प्रशिक्षणले स्वयंसेवकहरूमा अनुशासन, सामूहिक भावना, शारीरिक क्षमता तथा बौद्धिक विकास अभिवृद्धि गर्न सहयोग पुर्याएको छ। प्रशिक्षणका क्रममा सिकेका सीप र ज्ञानलाई सहभागीहरूले समापन समारोहमा प्रस्तुत गरेका थिए।
प्रशिक्षणका अभ्यास तथा झाँकी प्रदर्शनपछि सहभागी स्वयंसेवकहरूले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रमुख बजार तथा सडक हुँदै र्याली निकालेका थिए। नगरका विभिन्न स्थान परिक्रमा गर्दै निकालिएको र्यालीपछि कार्यक्रमको औपचारिक समापन गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पछिल्लो समय विभिन्न माध्यमबाट हिन्दू धर्म तथा संस्कृतिमाथि प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनीहरूले हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले नेपाल र हिन्दू धर्मको सम्मान गर्न सम्पूर्ण नेपालीलाई आग्रह गर्दै देशको धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण आवश्यक रहेको धारणा राखेका थिए। साथै, उनीहरूले नेपाल पुनः हिन्दू राष्ट्र बन्ने विश्वास समेत व्यक्त गरेका थिए।
सातदिने आवासीय प्राथमिक शिक्षा वर्गको समापनसँगै सहभागी स्वयंसेवकहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै आगामी दिनमा संगठनका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।