स्थानीय निकायले नसकेको काम दीपेश पटेलले गरे, जीर्ण सडक मर्मतपछि स्थानीय खुसी
परवानीपुर (बारा), साउन २० आनन्द पटेल — बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी निवासी युवा समाजसेवी दीपेश पटेलले स्थानीय सरकारबाट बेवास्ता हुँदै आएको सडक आफ्नै पहलमा मर्मत गराएका छन्।
गण्डकको मैनचोक हुँदै कलैया जाने सडकको एक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहेकाले दैनिक रूपमा मोटरसाइकल, अटो रिक्सा, ट्र्याक्टर, ट्रक, साइकल लगायतका सवारीसाधन जोखिम मोलेर आवतजावत गर्न बाध्य थिए। सडकको दयनीय अवस्थाका कारण साना–ठूला दुर्घटनासमेत हुने गरेको स्थानीयवासीको भनाइ छ।
स्थानीयका अनुसार उक्त सडक मर्मतका लागि सम्बन्धित वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकालाई पटक–पटक आग्रह तथा ध्यानाकर्षण गराइए पनि कुनै पहल नभएपछि दीपेश पटेलले व्यक्तिगत खर्चमा जेसीबी र ग्रेडर प्रयोग गरी सडक मर्मत गराएका हुन्।
मर्मत कार्यका क्रममा पटेल स्वयं स्थलमै उपस्थित भई कामको अनुगमन गरेका थिए भने उनका सहयोगी साथीहरूले पनि श्रम र सहयोग गरेका थिए।
सडक मर्मत भएपछि आवतजावत सहज भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि समाधान हुन नसकेको समस्यामा व्यक्तिगत पहल गरेर सडक सञ्चालन योग्य बनाएको भन्दै पटेलको प्रशंसा गरेका छन्।
दीपेश पटेलले स्थानीयको समस्यालाई नजिकबाट महसुस गरेपछि व्यक्तिगत पहलमा सडक मर्मत गराएको बताउँदै आगामी दिनमा पनि सबैको साथ र सहयोग पाए सामाजिक हितका यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यद्यपि, स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने सडक मर्मत सम्भारको काम नागरिकको व्यक्तिगत पहलबाट गर्नुपर्ने अवस्था आएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको भूमिकाप्रति प्रश्न समेत उठाएका छन्।