वीरगञ्जमा हरि खेतान क्याम्पसका प्राध्यापक–कर्मचारी आन्दोलनमा

59

वीरगञ्ज, वैशाख ३ — हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना दीर्घकालीन मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। क्याम्पस प्रशासनले मागहरूप्रति उदासीनता देखाएको आरोप लगाउँदै उनीहरूले आजदेखि क्याम्पस परिसरमा सामूहिक धर्ना कार्यक्रम थालेका हुन्।

संयुक्त संघर्ष समिति (कर्मचारी, प्राध्यापक तथा विद्यार्थी युनियन) को नेतृत्वमा सुरु गरिएको आन्दोलनअन्तर्गत प्राध्यापक तथा कर्मचारीहरूले विभिन्न १७ बुँदे माग अघि सारेका छन्। ती मागहरूमा क्याम्पसको निजी विधान खारेज गरी सामुदायिक मर्मअनुसारको नयाँ विधान लागू गर्ने, QAA नविकरण प्रक्रिया सुरु गर्ने, UGC अनुदानको निरन्तरता कायम गर्ने लगायतका विषय समावेश छन्।

त्यसैगरी, प्राध्यापकहरूको तलबमान त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार लागू गर्नुपर्ने, पदोन्नति, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा आबद्धता, सेवा निवृत्तिपछिका सुविधा सुनिश्चित गर्नुपर्ने माग पनि उठाइएको छ। दैनिक ज्यालादारी तथा प्याकेजमा कार्यरत प्राध्यापकलाई नियमित तलबमा रूपान्तरण गर्नुपर्ने र सम्पूर्ण प्राध्यापकहरूको स्थायी व्यवस्था गर्नुपर्ने विषय पनि आन्दोलनका प्रमुख एजेण्डा रहेका छन्।

आन्दोलनरत पक्षले क्याम्पस प्रमुख किशोरी रायलाई नैतिकताको आधारमा राजीनामा दिन समेत माग गरेको छ।

समितिले यथाशीघ्र मागहरू सम्बोधन नभएमा रिले अनशनदेखि आमरण अनशनसम्मका कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिएको छ। साथै, आन्दोलनलाई सफल बनाउन सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी, नागरिक समाज तथा सञ्चारकर्मीहरूलाई समर्थन गर्न अपिल गरिएको छ।

हाल क्याम्पसमा भइरहेको धर्ना कार्यक्रमले शैक्षिक गतिविधिमा समेत प्रभाव पार्ने देखिएको छ।

Leave A Reply

Your email address will not be published.