सेन्ट जेभियर्स स्कुलमा नयाँ विद्यार्थी नेतृत्वको उदय, भव्य शपथ तथा पदभार ग्रहण सम्पन्न

74

वीरगञ्ज, जेठ ३०  ओमप्रकाश सराफ— पर्साको श्रीपुर स्थित सेन्ट जेभियर्स सेकेन्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल), हाउस क्याप्टेन तथा कक्षा मनिटरहरूको पदभार ग्रहण एवं शपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय प्राङ्गणमा आयोजित ‘इन्भेस्टिच्युट सेरेमोनी’मा प्रमुख अतिथि क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष तथा सञ्चारकर्मी आनन्द पटेल तथा विद्यालयका को-अर्डिनेटर प्रकाश गुप्तालगायत अतिथिहरूले संयुक्त रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमको प्रारम्भमा पञ्चकन्या टोलीले अतिथिहरूलाई परम्परागत शैलीमा स्वागत गर्दै टिका तथा खादा ओढाएर सम्मान गरेको थियो। त्यसपछि विद्यार्थीहरूले राष्ट्रिय गान प्रस्तुत गरेका थिए।

स्वागत मन्तव्य राख्दै अनुशासन प्रमुख प्रमोद सरले नवमनोनित विद्यार्थी नेताहरूलाई विद्यालयको अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीप्रति समर्पित रहन आग्रह गरेका थिए।

समारोहको मुख्य आकर्षण नयाँ विद्यार्थी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण तथा ब्याज वितरण रहेको थियो। विद्यालय स्तरीय परिषद्मा धिरज दास हेड ब्वाइ, साक्षी जैसवाल हेड गर्ल, प्रिती कुशवाहा डेपुटी हेड गर्ल, प्रतिज्ञा बरनवाल अनुशासन कप्तान तथा रुबी गिरी खेलकुद कप्तानमा चयन भएका छन्। प्रमुख अतिथि आनन्द पटेल तथा विद्यालय प्रशासनले उनीहरूलाई पदको ब्याज प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी ब्लु, रेड, ग्रीन र यल्लो हाउसका कप्तान तथा उपकप्तानहरूलाई पनि औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको थियो। कक्षा १ देखि १० सम्मका मनिटरहरूलाई सम्बन्धित कक्षा शिक्षकहरूले ब्याज लगाएर नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कक्षा १ का विद्यार्थीहरूको सामूहिक नृत्य, रिया र मेघाको आकर्षक प्रस्तुति तथा राज, सुशील, हार्दिक र अभिषेकको सामूहिक नृत्यले दर्शकको मन जितेको थियो।

यस अवसरमा कक्षा ८ की छात्रा अफ्रिना खातुनले ‘महिला अधिकार’ विषयमा तथा नासिर आलमले ‘जेन–जी’ सम्बन्धी समसामयिक विषयमा विचार व्यक्त गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए।

विद्यालयका डाइरेक्टर डा. हरिशंकर गुप्ता, प्रिन्सिपल राकेश गुप्ता, को-अर्डिनेटर प्रकाश गुप्ता लगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न शिक्षक तथा कर्मचारीलाई समेत जिम्मेवारीसहितको ब्याज प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा को-अर्डिनेटर प्रकाश गुप्ताले नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारी, हाउस क्याप्टेन तथा कक्षा मनिटरहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण गर्दै विद्यार्थीहरूले विद्यालयको अनुशासन, मर्यादा र प्रतिष्ठालाई उच्च राख्दै जिम्मेवारीपूर्वक नेतृत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जिम्मेवारीबोध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.