लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, १४० विद्यार्थीको आँखा परीक्षण
वीरगञ्ज, जेष्ठ ४ । लिटिल बड्डी प्रिस्कुलमा आइतबार आयोजित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले शिविर आयोजना गरेको हो।
वीरगंज सामुदायिक आँखा अस्पताल को प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १४० जना विद्यार्थी, उनीहरूका परिवारका सदस्य तथा १५ जना शिक्षक–कर्मचारीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बल ले जानकारी दिए।
शिविरमा अतिथिका रूपमा राहुल श्रीवास्तव, कमल चौगाईं, जगत राई तथा दिपु कुमार वर्णवाल को उपस्थिति रहेको थियो।
प्रधानाध्यापक बलका अनुसार नियमित स्वास्थ्य परीक्षणले विद्यार्थीको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो। शिविरमा नेत्रचिकित्सक महेश सिंह धामी, प्रभात चौरसिया तथा नेत्र सहायकहरू मनोज पटेल र सृष्टि चौधरी को सक्रिय सहभागिता रहेको थियो।
चिकित्सक टोलीले प्रत्येक बालबालिकाको दृष्टि परीक्षण गरी आवश्यक परामर्श तथा सुझाव दिएको जनाएको छ। प्रभात चौरसियाका अनुसार बाल्यकालमै दृष्टि समस्या पहिचान भएमा समयमै उपचार गर्न सकिने भएकाले दीर्घकालीन समस्या न्यूनीकरण गर्न मद्दत पुग्छ। परीक्षणका क्रममा केही विद्यार्थीमा सामान्य दृष्टि कमजोरी देखिएको र थप उपचारका लागि अभिभावकलाई सुझाव दिइएको उनले बताए।
प्रधानाध्यापक विजय कुमार बलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक टोली, शिक्षक, अभिभावक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
विद्यालयका अनुसार यस्ता स्वास्थ्य शिविरले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै अभिभावक र शिक्षकलाई समयमै स्वास्थ्य परीक्षणप्रति प्रेरित गर्ने विश्वास गरिएको छ। साथै, वीरगंज सामुदायिक आँखा अस्पताल ले विद्यालयका विद्यार्थी तथा अभिभावकका लागि चस्मामा २५ प्रतिशत छुट तथा आवश्यक परे निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने जनाएको छ ।