वीरगञ्जमा हैजा पूर्व तयारी सम्बन्धी दुईदिने कार्यशाला सुरु
वीरगञ्ज, असार ११ । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण तथा सिकाइ आदानप्रदान कार्यशाला” बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ।
वीरगञ्ज स्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित दुईदिने कार्यशालाको उद्देश्य हैजा लगायत सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई थप मजबुत बनाउनु, विगतका अनुभव तथा सिकाइहरू आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
“पूर्वतयारी सुदृढ गरौं, प्रमाणमा आधारित अभ्यास साझा गरौं र जीवन बचाऔं” भन्ने मूल नारासहित सञ्चालन भइरहेको कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले गरेका छन्। कार्यक्रममा आईएफ आरसीका नेपाल प्रतिनिधि डेभिड सिर्स प्रमुख अतिथिका रूपमा सहभागी थिए।
विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटीकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा तथा लक्ष्मी पाण्डे सहभागी थिए। साथै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधिहरू बालकृष्ण सेढाईं, टिकाराज पौडेल र रश्मि झाको पनि उपस्थिति रहेको थियो।
कार्यशालामा ग्लोबल टास्क फोर्स अन कोलेरा कन्ट्रोल (जीटीएफसीसी) का एसिया क्षेत्रीय प्रबन्धक डा. अभिषेक रिमाल, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. प्रकट अर्याल, युनिसेफका अनिश शर्मा सुवेदी र मेघराज मगर, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा तथा बाराका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेल, दयाशंकर सिंह, बिरसम्सेर कुर्मी, राजन श्रीवास्तव, मिना क्षेत्रीलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेकाले समयमै पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताएका थिए। उनीहरूले महामारी नियन्त्रणका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, रेडक्रस तथा समुदायबीचको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
कार्यशालामा विगतमा हैजा नियन्त्रणका क्रममा प्राप्त अनुभव, चुनौती तथा सफल अभ्यासहरूको समीक्षा गर्दै भविष्यका लागि प्रभावकारी रणनीति निर्माणबारे छलफल भइरहेको जनाइएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपत्कालीन स्वास्थ्य तयारी, समुदायस्तरीय सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहुपक्षीय समन्वय तथा महामारी प्रतिकार्यसम्बन्धी विषयमा प्रस्तुति, छलफल र अनुभव आदानप्रदान गरिनेछ।
नारायणी अस्पतालका डा. मुकेश पौडेलले सञ्चालन गरेको कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले भविष्यमा सम्भावित हैजा प्रकोपको प्रभावकारी व्यवस्थापन तथा जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा आयोजकले गरेको छ।