माउन्ट मकालु बोर्डिङ स्कुलमा वक्तृत्व र बौद्धिक प्रतिस्पर्धा, उत्कृष्ट विद्यार्थी सम्मानित

92

वीरगञ्ज, साउन ८

वीरगञ्ज महानगरपालिका–१० स्थित माउन्ट मकालु बोर्डिङ स्कुलमा विद्यार्थीहरूको बौद्धिक क्षमता, वक्तृत्वकला तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ तथा स्पिच प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

विद्यालयकी उपप्राचार्य रेखा जैसीको अध्यक्षता तथा जगत समाचार डटकम र जनभण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जगत राईले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै सफलता र असफलता जीवनका पाटा भएकाले हारबाट कहिल्यै निराश नहुन आग्रह गरे। उनले आफ्ना विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न सिक्नुपर्ने, शिक्षक–शिक्षिकाको मार्गदर्शनलाई गम्भीरतापूर्वक पालना गर्नुपर्ने तथा अभिभावकको सपना पूरा गर्न निरन्तर मेहनत गर्नुपर्ने धारणा राखे।

विद्यालयका प्राचार्य राहुल श्रीवास्तवले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विद्यालयले प्रत्येक महिना अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको बताए। उनका अनुसार विद्यालयको लक्ष्य विद्यार्थीलाई केवल शैक्षिक रूपमा मात्र नभई लेखन, वक्तृत्वकला, चित्रकला, खेलकुद, नेतृत्व तथा सिर्जनात्मक क्षेत्रमा समेत सक्षम बनाउनु रहेको छ। यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धी भावना, नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक रूपमा बोल्ने कला विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

स्पिच प्रतियोगिता कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई तीन समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। कक्षा ९–१० समूहमा निशा प्रथम, आनन्द द्वितीय र आशा तृतीय भए। कक्षा ७–८ समूहमा परी प्रथम, सुशान्त पटेल द्वितीय र अञ्जली शर्मा तृतीय भए। कक्षा ६ समूहमा निशा क्षेत्री प्रथम, आशभ श्रीवास्तव द्वितीय तथा आनन्द पटेल तृतीय भए।

त्यसैगरी हाजिरीजवाफ प्रतियोगितामा कक्षा ४, ५ र ६ का विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा कक्षा ४ प्रथम, कक्षा ६ द्वितीय तथा कक्षा ५ तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ।

कार्यक्रममा शिक्षक–शिक्षिका चन्दन साह, अम्बिका जिसी, चन्दा सिंह, प्रिया सिंह, सुमन साह, आस्था श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.