बीपीसीले नवप्रवेशी विद्यार्थीलाई दियो सफल भविष्यको मार्गदर्शन
वीरगञ्ज, साउन ८ — वीरगञ्ज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्ज स्थित होटल भिस्वामा आयोजित कार्यक्रममा नवप्रवेशी विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नम्बर १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर बस्नेत रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा डा. अन्जय मिश्रा, कलेजका पूर्वविद्यार्थी तथा चार्टर्ड एकाउन्टेन्ट मौजेलाल सहनी, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा कलेजका ब्रान्ड एम्बासडर देवेश गुप्ताको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बस्नेतले कक्षा ११ विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्य, अनुशासन र निरन्तर मेहनतलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बीपीसीले विद्यार्थीलाई परीक्षामुखी शिक्षामा मात्र सीमित नराखी सीप, नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वतर्फ पनि सक्षम बनाउने वातावरण सिर्जना गरिरहेको बताउनुभयो।
कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीसीले शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको भावना विकासमा विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो। विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइनुका साथै नवप्रवेशी विद्यार्थीलाई बीपीसी परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रम प्रेरणादायी, जानकारीमूलक तथा उत्साहवर्द्धक भएको प्रतिक्रिया दिएका थिए।