बाढीपीडितका लागि माउन्ट मकालुको आर्थिक सहयोग, प्याब्सन मार्फत राहत कोषमा जाने
वीरगञ्ज, १८ भदौ । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि वीरगञ्जस्थित माउन्ट मकालु बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले आर्थिक सहयोग सङ्कलन गरेका छन्।
बाढीपीडितलाई मानवीय सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले आफ्नो क्षमता अनुसार स्वेच्छिक रूपमा आर्थिक रकम सङ्कलन गरेको प्याब्सन महानगर अध्यक्ष तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिए।
प्रिन्सिपल श्रीवास्तवका अनुसार विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व हो। विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले स्वेच्छाले सहयोग गर्दै बाढीपीडित प्रति ऐक्यबद्धता जनाएका उनले बताए।
“मानवीय सहायतामा हाम्रो सानो सहयोगले पनि पीडितहरूका लागि ठूलो राहत पुग्ने अपेक्षाले आर्थिक रकम सङ्कलन गरिएको हो,” श्रीवास्तवले भने।
उनका अनुसार विद्यालयबाट सङ्कलन गरिएको सहयोग प्याब्सन जिल्ला कार्यसमिति र प्याब्सन महानगरको संयुक्त आयोजनामा केन्द्रीय प्याब्सन कार्यालयमा बुझाइने छ। त्यसपछि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी एकद्वार प्रणाली मार्फत बाढीपीडितका लागि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए।
विद्यालयले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना तथा सहयोगी भावनाको विकास गर्ने उद्देश्यले यस्ता अभियानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
रसुवामा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी छ। माउन्ट मकालु बोर्डिङ स्कुलको पहलले विपद्का बेला मानवीय सहयोग र सामाजिक सेवाको भावना थप बलियो बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।