कञ्चनजंगा इङ्ग्लिस स्कुलमा विद्यार्थी परिषद्को पदस्थापना तथा बुवा–बालबालिका दिवस सम्पन्न

58

वीरगञ्ज, भदौ २६ ।

वीरगञ्जस्थित कञ्चनजंगा इङ्ग्लिस स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी परिषद्–२०८३ को पदस्थापना समारोह (Investiture Ceremony) तथा बुवा एवं बालबालिका दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ।

‘PROMISES TO KEEP…’ भन्ने नाराका साथ आयोजित समारोहमा नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारीलाई पद तथा जिम्मेवारी प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई नेतृत्व क्षमता, अनुशासन तथा ‘For God and Country’ को भावना विकास गर्न प्रेरित गरिएको थियो। परिषद्का सदस्यहरूले विद्यालयको मर्यादा कायम राख्दै आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने शपथ समेत लिएका थिए।

विद्यालयका प्रधानाध्यापक वसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, माइस्थान क्लबका पूर्वअध्यक्ष राहुल रौनियार, नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष महेश साह कानु, पत्रकार जाकिर हुसेन, जगत राई तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक एवं रेफ्री फिरोज हुसेनलगायतको उपस्थिति रहेको थियो।

बुवा दिवसको अवसरमा केक काटिनुका साथै बालबालिका दिवसका अवसरमा विद्यार्थीहरूलाई केक खुवाइएको थियो। समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकहरूले विद्यार्थी परिषद् गठनलगायतका गतिविधिले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक तथा शिक्षाविद् मार्टिन मोक्तानले गरेका थिए। २०५९ सालमा स्थापना भएको कञ्चनजंगा इङ्ग्लिस स्कुलले हरेक वर्ष विद्यार्थी परिषद्मार्फत विद्यार्थीलाई विद्यालय प्रशासन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय रूपमा सहभागी गराउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.