विद्यालयस्तरीय क्रिकेटलाई प्रोत्साहन गर्दै वीरगञ्जमा ‘अक्षरारम्भ कप’ सुरु

58

वीरगञ्ज, १२ कात्तिक।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै खेलकुदमा पनि जोड दिनुपर्ने बताएका छन्। वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

सनलाइट सेकेन्डरी स्कुल, विद्यासन सेकेन्डरी स्कुल र न्यु वेभ एकेडेमीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सिंहले विद्यालयस्तरबाटै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नु सकारात्मक भएको बताए। उनले खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

नगर प्रमुख सिंहले क्रिकेट मैदानको संरक्षण र सरसफाइमा खेल सञ्चालन हुने समयमा मात्र नभई अन्य समयमा पनि ध्यान दिनुपर्ने बताए। मैदान सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्ने दायित्व पनि सबै नागरिकको रहेको उनको भनाइ थियो। आफू अभिभावकको भूमिकामा रहे पनि मैदानको संरक्षणका लागि स्थानीय नागरिक, खेलप्रेमी तथा अगुवाहरूको सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनि सिंहले वीरगञ्जको क्रिकेट मैदानलाई व्यवस्थित बनाउन नगर प्रमुख राजेशमान सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताए। आफूहरूले मैदानको संरक्षण र रेखदेखमा ध्यान दिइरहेको उल्लेख गर्दै उनले मैदानको समग्र विकासमा महानगरपालिकाको योगदानलाई नकार्न नसकिने धारणा राखे।

सनलाइट कलेजका प्रिन्सिपल आलोक चौरसियाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने र उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। विद्यासन माध्यमिक विद्यालयका प्रिन्सिपल लालबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने न्यु वेभ माध्यमिक विद्यालयका प्रिन्सिपल सुवास प्रधानको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा विद्यासन र मिनील्यान्डबीच प्रतिस्पर्धा भइरहेको थियो। प्रतियोगितामा डीपीएस, पिस जोन, लिटिल फ्लावर, कादम्बरी एकेडेमी, सनलाइट, जीएचपी, ज्ञानोदय, जीवन ज्योति, ओम नेसनल, लिटिल एन्जल्स, न्यु वेभ, सूर्योदय, माउन्ट मकालु, मनकामना लगायतका विद्यालय सहभागी छन्। आयोजकका अनुसार प्रतियोगितामा कुल १६ विद्यालयको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, प्याब्सन मधेश प्रदेशका सल्लाहकार लालबाबु पटेल र मनि पाख्रिन, प्याब्सन महानगर सचिव एवं सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोक, सञ्चालिका संगीता प्रधान, कादम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्य, एनप्याब्सन महानगर अध्यक्ष एवं सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल गुप्ता, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्तालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्चपासमा मनकामना माध्यमिक विद्यालय प्रथम, न्यु वेभ माध्यमिक विद्यालय दोस्रो र जीएचपी तेस्रो भएका थिए।

Leave A Reply

Your email address will not be published.