गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, गतिविधि सञ्चालनमा रोक

34

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार मन्त्रालयले संस्थाका गतिविधिमा रोक लगाउने निर्णय गरेको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा ऐनको दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको उल्लेख छ। मन्त्रालयका अनुसार संस्थाले ऐनको दफा ५ अन्तर्गत जारी गरिएका निर्देशन पटक–पटक उल्लङ्घन गर्दै आएको थियो।

त्यस्तै, संस्थाका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत गतिविधि सञ्चालन भएको मन्त्रालयको ठहर छ।

यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशन अनुसार काम गर्न आग्रह गरेको थियो। पटक–पटक सचेत गराउँदा पनि निर्देशनको पालना नभएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निलम्बनको सूचना जारी भइसकेपछि एन-प्याब्सनको नाममा कुनै समूह वा गुटले गतिविधि सञ्चालन गरे त्यस्तो कार्य गैरकानुनी हुने स्पष्ट पारेको छ। साथै, निर्णयविपरीत गतिविधि सञ्चालन गर्ने वा त्यसमा संलग्न हुनेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Leave A Reply

Your email address will not be published.