भुटानमा हिमताल फुटेर भीषण बाढी, भारतका सीमावर्ती क्षेत्रमा हाई अलर्ट
काठमाडौं- भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुटेर आएको भीषण बाढीका कारण ठूलो क्षति भएको छ।
बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्शाचु’ पूर्ण रूपमा बगाएको छ। बाढीका कारण पुनाखा-गासा राजमार्गको एक भाग भत्किएपछि यातायात ठप्प भएको छ भने लाआ जोड्ने सडकमा पनि क्षति पुगेको छ। हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। बाढीकै कारण पुनाखा जिल्लामा सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणाली नष्ट भएको छ।
हिमताल फुटेपछि संकोश नदीमा जलसतह ह्वात्तै बढेको छ। यो नदी भुटान हुँदै भारतको पश्चिम बंगाल र असम राज्यमा प्रवेश गर्छ। सम्भावित बाढीलाई ध्यानमा राख्दै दुवै राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।
पश्चिम बंगालको अलिपुरद्वार र कुचबिहार तथा असमको धुबरी क्षेत्रमा विशेष निगरानी बढाइएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। अलिपुरद्वारका १० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थान तथा राहत शिविरहरूमा सारिएको छ। प्रशासनले साइरन बजाएर सर्वसाधारणलाई सचेत गराइरहेको छ भने उद्धारका लागि एनडीआरएफ , एसडीआरएफ र आपत्कालीन व्यवस्थापन टोलीहरू तैनाथ गरिएका छन्।
प्राप्त जानकारी अनुसार बिहीबार राति करिब ८:१५ बजे सिन्ताफु हिमतालबाट अचानक पानी फुटेर बाहिरिएको थियो। यो ताल भुटानका १७ वटा अति संवेदनशील हिमतालहरूमध्ये एक हो। पानीको तीव्र बहावले स्थानीय सडक तथा भौतिक पूर्वाधारहरूमा क्षति पुर्याएको छ। हिमताल फुट्नुको कारण, बाढीको मात्रा र कुल क्षतिको मूल्यांकन भइरहेको छ।
सुरुआती चेतावनी अनुसार हिमतालबाट फुटेको बाढी ६ देखि ८ घण्टाभित्र भारत-भुटान सीमासम्म पुग्न सक्ने आकलन गरिएको थियो। यो बाढी मोछु नदी हुँदै सोनकोश नदीमा मिसिएर भारततर्फ बग्दछ।