पूर्वी जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, टोकियोसम्म धक्का

53

काठमाडौं । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी टोकियो सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाएको छ।

एजेन्सीका अनुसार स्थानीय समय अनुसार बिहान २ बजे इबाराकी प्रान्तलाई केन्द्रविन्दु बनाएर ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ।

भूकम्पपछि सर्वसाधारणका मोबाइल फोनमा आपत्कालीन चेतावनीसमेत बजेको थियो। हालसम्म भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक नोक्सानी भएको विवरण सार्वजनिक भएको छैन।

सम्भावित क्षतिको आकलन तथा आवश्यक उद्धार र राहत व्यवस्थापनका लागि सरकारले विशेष कार्यदल गठन गरेको प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएकी छन्।

जापानमा यस अघि गत महिना दक्षिणी टापु क्युसुको कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा ३८ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए। भूकम्पबाट १ हजार ५ सयभन्दा बढी भवन पूर्णरूपमा नष्ट हुनुका साथै करिब २० हजार घरमा क्षति पुगेको थियो।

Leave A Reply

Your email address will not be published.