कोलकाताको होटलमा आगलागी, एक बालकसहित ९ जनाको मृत्यु
काठमाडौं, ४ भदौ । भारतको पश्चिम बंगाल स्थित कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति भएको भीषण आगलागीमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ।
आगलागीपछि होटलभित्र फैलिएको धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा अन्य छ जना घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको र मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार मृतकमध्ये सबै बंगलादेशी नागरिक रहेको दाबी गरिएको छ। उनीहरू उपचारका लागि कोलकाता आएका थिए। यद्यपि, प्रहरीले मृतकहरूको पहिचानबारे औपचारिक पुष्टि गरिसकेको छैन।
अग्नि नियन्त्रक स्रोतका अनुसार होटलको तेस्रो तल्लामा राति करिब २ बजे आगलागी भएको थियो। आगलागीको सूचना पाएलगत्तै नयाँ बजार प्रहरी चौकीका प्रहरी र दमकल टोली घटनास्थल पुगेका थिए।
अग्नि नियन्त्रक अधिकारीहरूले प्रारम्भिक रूपमा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, आगलागीको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने उनीहरूको भनाइ छ।
आगलागीका क्रममा होटलको लिफ्टले काम गर्न छाडेपछि त्यहाँ रहेका मानिसहरू थप आतंकित भएका थिए। केही मानिस बाहिर निस्कन सफल भए पनि कतिपय आफ्नै कोठामा फसेका थिए। धुवाँका कारण उनीहरू बेहोस भएको र पछि निसास्सिएर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। होटलका प्रबन्धकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
यस अघि सोमबार बिहान पनि पश्चिम बंगालकै वीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो। लगातार भएका होटल आगलागीका घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।