लालबन्दीबाट ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ

33

वीरगञ्ज, ५ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई छुट्टाछुट्टै स्थानमा लुकाएर राखिएको कुल ६६० किलो गाँजा बरामद गरेको हो।

ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन निरौलाका अनुसार गाँजा भण्डारण तथा कारोबारमा संलग्न रहेको आरोपमा स्थानीय ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई पक्राउ गरिएको छ।

प्रहरीले नरबहादुरको साथबाट २६ वटा बोरामा प्याक गरी लुकाएर राखिएको ५६० किलो गाँजा बरामद गरेको जनाएको छ। त्यस्तै, जेसुनमायाको गोठबाट थप १०० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

Leave A Reply

Your email address will not be published.