श्रीपुरमा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंहको मतदाता भेटघाट, स्थानीयद्वारा भव्य स्वागत

42

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह पराग लाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा स्थानीयवासी तथा युवाहरूले खादा र मालासहित भव्य स्वागत गरेका छन्। स्वागतपश्चात आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उम्मेदवार सिंहले आफूले अघि सारेको राजनीतिक एजेन्डा र विकाससम्बन्धी योजनाहरू सार्वजनिक गर्दै युवाका रोजगारी, गुणस्तरीय शिक्षा र टोल–समाजको समग्र विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा–१ का युवाहरूलाई रोजगारीका लागि विदेशिन बाध्य हुन नपरोस् भन्ने उद्देश्यले स्थानीयस्तरमै सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने बताए।

सिंहले जनतासँगको प्रत्यक्ष सम्पर्कलाई सुदृढ बनाउन हरेक वडामा स्थायी रूपमा जनगुनासो सुन्ने सचिवालय स्थापना गर्ने योजना रहेको जानकारी गराउँदै जनताका समस्या, सुझाव र गुनासोलाई समयमै सम्बोधन गर्ने व्यवस्था मिलाइने स्पष्ट पारे। “नेतृत्व जनताको पहुँचभन्दा बाहिर होइन, जनतामाझै हुनुपर्छ,” उनले भने।

कृषि क्षेत्रको आधुनिकीकरण बिना ग्रामीण अर्थतन्त्र सुदृढ हुन नसक्ने उल्लेख गर्दै उम्मेदवार सिंहले आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुविधा विस्तार, कृषि उत्पादनको बजार सुनिश्चितता र किसानमैत्री नीति लागू गरिने बताए। यसले किसानको आयस्तर वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले उम्मेदवार सिंहको स्पष्ट दृष्टिकोण, नयाँ सोच र युवामैत्री नीतिले आफूहरूमा आशा जगाएको प्रतिक्रिया दिएका छन्। इमानदार र जवाफदेही नेतृत्व आवश्यक रहेको बताउँदै उनीहरूले यसपटक परिवर्तनका लागि मतदान गर्ने मनस्थिति बनेको समेत उल्लेख गरे।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.