मधेश आन्दोलनका जिउँदा सहिद मुसी पटेलसँग रास्वपा उम्मेदवार शुशिल साह कानुको भेट, स्वास्थ्य अवस्थाबारे जानकारी

26

वीरगञ्ज । मधेश आन्दोलनका क्रममा गोली लागेर गम्भीर रूपमा घाइते भएका जिउँदा सहिद मुसी पटेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुले भेट गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. २८ बगही निवासी मुसी पटेल हाल नारायणी अस्पतालमा उपचाररत रहनुभएको छ। उम्मेदवार कानु अस्पताल पुगेर पटेलको स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा परिवारका सदस्यसँग जानकारी लिनुभएको हो।

भेटका क्रममा कानुले मधेश आन्दोलनका बेला मुसी पटेलले भोग्नुपरेको पीडा, संघर्ष र त्यागलाई स्मरण गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। मधेश आन्दोलनका क्रममा गोली लागेर गम्भीर रूपमा घाइते भएका पटेल लामो समयदेखि उपचाररत रहँदै आउनुभएको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन र निरन्तर उपचार आवश्यक रहेको छ।

उम्मेदवार कानुले मधेश आन्दोलनका सहिद तथा घाइतेहरूको बलिदानकै कारण मधेशका मुद्दा राष्ट्रिय राजनीतिमा स्थापित भएको उल्लेख गर्नुभयो। उहाँले आन्दोलनका घाइते र सहिद परिवारप्रति राज्यले लिनुपर्ने जिम्मेवारी अझै पूरा हुन नसकेको भन्दै उपचार, सम्मान र पुनःस्थापनाका विषयमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

भेटघाटका क्रममा कानुले मधेश आन्दोलनका घाइते र सहिद परिवारको न्याय, उपचार र सम्मानका लागि आफूले सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आन्दोलनका जिउँदा सहिदहरूको अवस्था प्रति राजनीतिक नेतृत्वले निरन्तर चासो र पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

स्थानीयवासीहरूले पनि मधेश आन्दोलनका घाइते तथा जिउँदा सहिदहरूको पीडाप्रति राज्य र राजनीतिक दलहरूले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.