रामगढवा–बहुअरीमा शुशिल साह कानुको घरदैलो, युवाको बलियो साथ र परिवर्तनको आवाज

61

वीरगंज । पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा–बहुवरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता शुशिल साह कानुको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाता, विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागी युवाहरूले परिवर्तन, सुशासन, रोजगारी सिर्जना तथा युवामैत्री नेतृत्वको आवश्यकता औंल्याउँदै उम्मेदवार कानुप्रति खुलेर समर्थन जनाएका थिए।

स्थानीय युवाहरूले वर्तमान राजनीतिक अवस्थाप्रति निराशा व्यक्त गर्दै अब नयाँ सोच, पारदर्शी नेतृत्व र जवाफदेही प्रतिनिधिको खाँचो रहेको बताएका छन्। उनीहरूले शिक्षा सुधार, रोजगारीका अवसर, खेलकुद पूर्वाधार विकास तथा युवा सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने मागसमेत उठाएका थिए।

कार्यक्रममा सहभागी मतदाता तथा समर्थकहरूले उम्मेदवार कानुलाई अग्रिम शुभकामना दिँदै आगामी निर्वाचनमा युवाको बलियो साथ रहने विश्वास व्यक्त गरे।

घरदैलोका क्रममा उम्मेदवार शुशिल साह कानुले युवाहरूको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, सुशासन र पारदर्शी शासन प्रणाली स्थापना आफ्नो प्रमुख प्राथमिकता हुने बताए।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. २ मा युवाको सक्रिय सहभागितासँगै चुनावी माहोल दिनप्रतिदिन थप तातिँदै गएको स्थानीयवासीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.