प्रहरी सहायक निरीक्षक सुनील साह तेलीको पहल: मिर्चैयामा ट्राफिक जनचेतना अभियान तीव्र, अभिभावकलाई जिम्मेवार बन्न आग्रह
२२ चैत्र सिराहा, मिर्चैया आनन्द पटेल —
अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मिर्चैयामा ट्राफिक नियम पालनामा युवा र अभिभावकलाई सचेत बनाउने विशेष अभियान सञ्चालन गरेको छ। पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन र दुर्घटनामा संलग्नको ठूलो हिस्सा युवाहरू रहेको पाइएको छ। प्रहरी सहायक निरीक्षक सुनील साह तेलीका अनुसार, “सवारी साधनका हिसाबले करिब ९०% दुर्घटना मोटरसाइकल वा स्कुटीमा भएको देखिएको छ।
उनले थपे, “हाम्रो समाजमा सबैभन्दा दुखद कुरा त के हो भने, जसले ट्राफिक नियम थाहा पाए पनि उनीहरू नै बढी उल्लङ्घनकर्ता बन्न पुगेका छन्। कारण त थाहा छ, तर सकारात्मक सोचको कमीले व्यवहारमा लागू भएन। हामीले जानेका कुरा व्यवहारमा लागू नगरे, दुर्घटनामा परी अकालमा मृत्यु भयो भने त्यो ज्ञानको कुनै महत्व हुँदैन। Learning is what we accept in our behavior — सिकाइ त त्यो हो जुन व्यवहारमा लागू हुन्छ।”

अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले अभिभावकलाई आफ्ना घरपरिवारका सदस्यलाई बेलैमा सचेत गराउन र घरभित्रै ट्राफिक नैतिक शिक्षा दिन कार्य सुरु गर्न आग्रह गरेको छ। यसले युवालाई जिम्मेवार बनाउने मात्र होइन, दुर्घटना न्यूनीकरणमा पनि योगदान पुर्याउँछ।
स्थानीय बासिन्दा रामबहादुर यादवले भने, “सडकमा हेलमेट नलगाउने युवा धेरै छन्। यस्ता सचेतना कार्यक्रमले हाम्रो समाजलाई सुरक्षित बनाउन ठूलो भूमिका खेल्छ।”
पोष्टले आगामी दिनमा पनि विद्यालय र सार्वजनिक स्थानहरूमा ट्राफिक जनचेतना अभियान जारी राख्ने योजना बनाएको छ।