कार र मोटरसाइकलमा गाँजाको ठूलो खेप, ४ क्विन्टल १८ किलो सहित चार जना पक्राउ
२३ साउन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट प्रहरीले ४ क्विन्टल १८ किलो गाँजा सहित चार जनालाई पक्राउ गरेको छ।
बराहक्षेत्रबाट चतरा तर्फ आउँदै गरेको कार र मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा २२ वटा पोकामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरी रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। प्रहरीले बरामद गाँजा र प्रयोग गरिएका सवारीसाधनबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।