ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

51

वीरगञ्ज/ताप्लेजुङ, साउन १०

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध अनुसन्धान शाखाका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक यादवले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन तथा आचरणको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गरेकाले उक्त सम्मान प्रदान गरिएको हो।

यादवले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न, विपद् व्यवस्थापनका क्रममा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्न तथा विभिन्न आपराधिक घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्न अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन उल्लेखनीय भूमिका खेलेको प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी समुदाय तथा सरोकारवाला निकायसँग समन्वय गर्दै अपराध नियन्त्रण र समुदाय–केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन, जिल्ला प्रहरी कार्यालयको पूर्वाधार विकासमा योगदान तथा मातहतका प्रहरी कर्मचारीको प्रभावकारी सुपरिवेक्षणमार्फत संगठनको छवि सुदृढ बनाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

उक्त कार्यसम्पादनको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जोशीले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेका हुन्।

Leave A Reply

Your email address will not be published.