दीपावली र छठको अवसरमा रास्वपाद्वारा जगन्नाथपुरमा शुभकामना कार्यक्रम
वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको जगन्नाथपुर गाउँपालिका–६, बहुअर्वा प्रसौनीमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
जगन्नाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमाकान्त चौरसिया प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्यहरू सुशील कुमार कानु, टेकबहादुर साक्य र सुनिता चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना बलियो बनाउने बताए। उनले सम्पूर्ण क्षेत्रवासीलाई पर्वको शुभकामना दिँदै मिलेर पर्व मनाउन आग्रह गरे।
उनले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्नसमेत आग्रह गरे। साथै, रास्वपाको नेतृत्वमा रहेको वर्तमान सरकारका कामकारबाही, गतिविधि तथा उपलब्धिबारे चर्चा गर्दै सरकारको कार्यसम्पादनबारे आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा रास्वपा पर्साका जिल्ला उपसभापति दिलीप कुमार कुर्मी, जिल्ला सदस्य प्रियंका पटेल, क्षेत्र नम्बर ३ का सभापति प्रदीप जैसवाल, क्षेत्र नम्बर २ का सभापति फैयाज मियाँ र क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, जिराभवानी गाउँपालिका सभापति रमाकान्त चौधरी, धोबिनी गाउँपालिका सभापति सुदिल पटेल, छिपहरमाई गाउँपालिका सभापति उमेश यादव, बिन्दवासिनी गाउँपालिका सभापति विनोद चौरसिया र सखुवा प्रसौनी गाउँपालिका सभापति शम्भु यादव पनि कार्यक्रममा सहभागी भएका थिए।
मधेस प्रदेशका शिक्षा उपप्रमुख सोनालाल पटेलको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले एकअर्कालाई दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा जगन्नाथपुर गाउँपालिका–६ का वडाध्यक्ष रामअयोध्या पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन दिनेश पटेलले गरेका थिए।
रास्वपाले आयोजना गरेको उक्त कार्यक्रमले स्थानीय स्तरमा पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट, आपसी समन्वय र राजनीतिक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।