प्रदेशलाई पूर्ण स्वायत्तता दिन माग गर्दै जनमत पार्टीको काठमाडौंमा प्रदर्शन
वीरगञ्ज । जनमत पार्टी ले प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने लगायत विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, कर्मचारी र स्थानीय तहलाई प्रदेश मातहत कायम गर्नुपर्ने माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरेको हो।
पार्टीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग समेत अघि सारेको छ। साथै वैदेशिक रोजगारीको समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमा मलखाद तथा सहज ऋण उपलब्ध गराउनुपर्ने र चुरे क्षेत्रको दोहन तथा अतिक्रमण रोक्नुपर्ने माग पनि गरिएको छ।

प्रदर्शनमा सहभागीहरुले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अल्पसंख्यकमाथिको दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। कार्यक्रममा सहभागी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले आन्दोलन अधिकार र पहिचानको पक्षमा केन्द्रित रहेको बताए।
यसैबीच काठमाडौंमै जेठ २४ र २५ गते दुईदिने केन्द्रीय समिति विस्तारित बैठक जारी रहेको जनाइएको छ। केन्द्रीय सदस्य समेत रहेका सरार्फका अनुसार बैठकले पछिल्लो निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा नयाँ रणनीतिसहित पार्टीलाई अघि बढाउने विषयमा निर्णय गर्नेछ।