मनोज ग्यास उद्योगद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग

48

वीरगञ्ज, भदौ ३१ —

वीरगञ्ज महानगरपालिका–२१ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मनोज ग्यास उद्योग प्रा.लि.ले स्थानीय स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग गरेको छ।

उद्योगले वडा नम्बर २१ स्थित स्वास्थ्य संस्थालाई २ टन क्षमताको एसी तथा श्री नेरा गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, सुखचैनालाई १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

वडा नम्बर २१ का अध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोज ग्यास उद्योग प्रा.लि.का सञ्चालक, युवा उद्योगी तथा समाजसेवी मनोज कुमार दासले स्वास्थ्य संस्थाका लागि एसी हस्तान्तरण गरे।

त्यसैगरी, विद्यालयका एक शिक्षकलाई १ लाख ४४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। उद्योगले विगत चार वर्षदेखि विद्यालयलाई सोही रकम सहयोग गर्दै आएको जनाइएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद कुर्मी, प्रधानाध्यापक नन्दकिशोर राम, स्वास्थ्य शाखाका प्रमुखलगायतको उपस्थिति थियो। उद्योगका तर्फबाट अरुण दास, चन्दन दास तथा सञ्चारकर्मी युवराज खड्गा, वीरेन्द्र साहलगायत सहभागी थिए।

विद्यालय परिवारले निरन्तर आर्थिक सहयोग गर्दै आएकोमा मनोज ग्यास उद्योग तथा सञ्चालक दासप्रति आभार व्यक्त गरेको थियो। उद्योगले यसअघि पनि वडा नम्बर २१ मा सहयोगस्वरूप वासिङ मेसिन उपलब्ध गराएको जनाइएको छ।

कार्यक्रममा दासले उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएको बताए। स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका दासले व्यवसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनु आफ्नो दायित्व भएको बताए। स्वास्थ्य संस्थामा एसी जडान भएपछि सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई सहज वातावरणमा सेवा प्रवाह गर्न सहयोग पुग्ने तथा विद्यालयलाई प्राप्त आर्थिक सहयोगले शैक्षिक गतिविधिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.