विश्व लिग टुमा नेपालको रोमाञ्चक जित, यूएई ६ रनले पराजित

53

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको छ । वर्षाका कारण प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २ सय ५५ रनको संशोधित लक्ष्य पाएको थियो ।

तर यूएईले निर्धारित ३८ ओभरमा ८ विकेट गुमाउँदै २ सय ४८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतक प्रहार गर्दै ९४ बलमा १ सय रन बनाए ।

त्यसैगरी विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रनको योगदान दिए ।

जारी सिरिजमा यूएईविरुद्ध नेपालको यो दोस्रो जित हो । यसअघि भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो ।

Leave A Reply

Your email address will not be published.