वीरगञ्जमा १३ वर्षपछि मुख्य सडक विस्तार सुरु
वीरगञ्ज, ६ वैशाख । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ। बिहानै ५ बजेदेखि काम थालिएको हो।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ–बायाँ २५–२५ मिटर विस्तार गरिँदैछ। सडक विस्तारलाई प्रभावकारी बनाउन एकैपटक पाँच स्थानबाट काम अघि बढाइएको छ।
कार्यालयले सडक विस्तारका लागि डोजर, एक्साभेटर सहित ९ वटा उपकरण परिचालन गरिएको जनाएको छ। साथै, सुरक्षाको अवस्था मजबुत बनाउन सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्य सुरु गरिएको छ। यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको उनले जानकारी दिए।

यस अघि सडक विस्तार विरुद्ध करिब १,२०० घरधनीले मुआब्जा र वैकल्पिक व्यवस्थाको माग गर्दै रिट दायर गरेका थिए। सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि सडक विस्तारको बाटो खुलेको हो।
झन्डै १३ वर्षदेखि अन्योलमा रहेको यो योजना अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने प्रशासनले जनाएको छ।