साउनले आत्मशुद्धि, सेवा र प्रकृति संरक्षणको सन्देश दिन्छ : बिमल सर्राफ

53

रक्सौल (पूर्वी चम्पारण), १८ साउन । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी एवं समाजसेवी बिमल सर्राफले पवित्र साउन महिना आत्मशुद्धि, संयम, सेवा र प्रकृति संरक्षणको सन्देश दिने विशेष समय भएको बताउनुभएको छ।

सञ्चारकर्मीसँग कुरा गर्दै सर्राफले साउन केवल धार्मिक आस्थाको महिना मात्र नभई मानव जीवनलाई सकारात्मक दिशा दिने आध्यात्मिक अवसर भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार भगवान शिवको जीवनदर्शनले त्याग, करुणा, समानता, आत्मसंयम र मानव सेवाको मार्ग सिकाउँछ।

उहाँले भगवान शिवको व्यक्तित्वलाई विरोधाभासबीचको अद्भुत सन्तुलनको प्रतीकका रूपमा व्याख्या गर्दै कठिन परिस्थितिलाई धैर्य र आत्मबलका साथ सामना गर्न सक्ने प्रेरणा शिवबाट प्राप्त हुने बताउनुभयो। समुद्र मन्थनका बेला भगवान शिवले हलाहल विष पान गरेको प्रसंग उल्लेख गर्दै उहाँले समाज र मानवताको हितका लागि स्वार्थभन्दा माथि उठेर त्याग गर्न सक्नु नै साँचो नेतृत्व भएको धारणा राख्नुभयो।

सर्राफले साउन महिनामा शिवालयमा जलाभिषेक, व्रत र पूजा–आराधना गर्नु शुभ भए पनि त्यससँगै सत्य, दया, क्षमा, सेवा, इमानदारी र विनम्रतालाई जीवनमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। “भगवान शिवलाई प्रसन्न पार्ने सबैभन्दा सहज उपाय मानव सेवा, सदाचार र करुणामय जीवन हो,” उहाँले भन्नुभयो।

उहाँले वास्तविक तप भनेको केवल जंगलमा गएर साधना गर्नु नभई परिवारमा प्रेम कायम राख्नु, आमाबुबाको सम्मान गर्नु, कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नु, क्रोध र लोभलाई नियन्त्रण गर्नु तथा समाजमा सद्भाव फैलाउनु पनि भएको उल्लेख गर्नुभयो।

प्रकृति संरक्षणलाई पनि शिवभक्तिको अभिन्न पक्षका रूपमा व्याख्या गर्दै सर्राफले रुख रोप्ने, पानीको संरक्षण गर्ने र वातावरण जोगाउने कार्यलाई शिव आराधनाकै उत्कृष्ट रूप भएको बताउनुभयो।

समाजमा बढ्दो असहिष्णुता, स्वार्थ र मानसिक तनावको अवस्थामा साउनले प्रेम, सहिष्णुता, संयम र आत्मचिन्तनको सन्देश दिने उल्लेख गर्दै उहाँले अहंकार, ईर्ष्या, द्वेष र नकारात्मक सोच त्यागेर प्रेम, सेवा, सत्य र मानवताको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

उहाँले भगवान शिवलाई मन्दिरमा मात्र नभई आफ्ना विचार, व्यवहार, चरित्र र कर्ममा स्थापित गर्न सके मात्र साउनको वास्तविक सन्देश सार्थक हुने विश्वास व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.